रसुवा बाढीपछि आपत्कालीन बैठक, उद्धार र राहत तीव्र पार्न निर्देशन

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ १० —

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिको समीक्षा गर्दै आपत्कालीन उद्धार तथा राहत कार्यलाई तीव्रता दिन प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपत्कालीन बैठक सिंहदरबारमा सम्पन्न भएको छ।

बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा तत्काल गर्नुपर्ने उद्धार र राहतका विषयमा बैठकमा विस्तृत छलफल भएको जनाइएको छ। बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे सम्बन्धित निकायबाट ब्रिफिङसमेत गरिएको थियो।

यसैबीच प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीको अवस्थालाई लिएर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न परिषद्को बैठकमा बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी गराइएको थियो।

बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएका छन्।

उनले विपद्को यस कठिन परिस्थितिमा सरकारी तथा सुरक्षा निकायसहित सबै सरोकारवाला पक्षलाई आ–आफ्नो ठाउँबाट सक्रिय भएर प्रभावित नागरिकको उद्धार, खोज तथा राहतमा जुट्न आग्रह गरेका छन्।

रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय परिचालन गरिएको छ। उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति, स्वास्थ्यकर्मी तथा अन्य स्रोतसाधन परिचालन गर्ने तयारीसमेत भइरहेको जनाइएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्दै उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर थप आवश्यक कदम अघि बढाउने जनाएको छ।

सम्बन्धित पोस्टहरुः