नारायणी अस्पतालमा क्याथ ल्याब सेवा औपचारिक रूपमा सुरु

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १० —

लामो समयदेखि प्रतीक्षित क्याथ ल्याब सेवा वीरगंजस्थित नारायणी अस्पतालमा औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेवा सुरु भएसँगै अस्पतालमा पहिलोपटक ४० वर्षीया महिलाको सफलतापूर्वक कोरोनरी एन्जियोग्राफी (CAG) गरिएको छ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहका अनुसार क्याथ ल्याब सेवा सञ्चालनमा आउनु अस्पताल तथा समग्र मधेस क्षेत्रका लागि स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो।

क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मुटुसम्बन्धी समस्या भएका बिरामीको समयमै परीक्षण तथा उपचारमा सहजता पुग्ने अपेक्षा गरिएको छ। यसअघि जटिल मुटुरोगको परीक्षण तथा उपचारका लागि अन्य ठूला स्वास्थ्य संस्थामा जानुपर्ने अवस्थाबाट बिरामीले राहत पाउने विश्वास गरिएको छ।

अस्पतालका अनुसार क्याथ ल्याबमा पहिलोपटक ४० वर्षीया महिलामा कोरोनरी एन्जियोग्राफी सफलतापूर्वक सम्पन्न भएको हो। सेवा सुरु भएसँगै नारायणी अस्पतालको स्वास्थ्य सेवामा नयाँ अध्याय थपिएको चिकित्सकहरूले बताएका छन्।

क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउन निरन्तर पहल, समर्पण तथा नेतृत्व गरेको भन्दै डा. बृजेश पाण्डेलाई विशेष धन्यवाद दिइएको छ। उनको निरन्तर पहलका कारण लामो समयदेखि प्रतीक्षित सेवा सञ्चालनमा ल्याउन सम्भव भएको डा. सिंहले बताएका छन्।

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु हुनु वीरगंजसहित समग्र मधेस क्षेत्रका मुटुरोगीका लागि महत्वपूर्ण उपलब्धि भएको बताइएको छ। आगामी दिनमा यस सेवाले हृदय रोगको समयमै पहिचान, परीक्षण तथा उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अस्पतालले क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउन योगदान गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरुः