काठमाडौं १० भदौ । धादिङबेँसीबाट २५ यात्रु लिएर रसुवाको गोसाइँकुण्डतर्फ जाँदै गरेको बस सम्पर्कविहीन भएको छ ।
बुधबार बिहान धादिङबेँसीबाट गोसाइँकुण्डका लागि रिजर्भमा छुटेको बा ५ ख १२५० नम्बरको बेस्ट बसमा सवार यात्रु तथा चालकसँग सम्पर्क हुन नसकेको धादिङ मण्डली यातायात प्रालिले जनाएको छ ।
बस धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित हो । बस र त्यसमा सवार सबै यात्रु तथा चालक सम्पर्कविहीन भएपछि यातायात समितिले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग सहयोग मागेको छ ।
बसमा नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल सवार रहेको बताइएको छ ।
त्यस्तै, नीलकण्ठ नगरपालिका–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल पनि बसमा रहेको समितिले जनाएको छ ।
यसैगरी सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट तथा नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना पनि बसमा सवार थिए ।
बसका चालक नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठ रहेको धादिङ मण्डली यातायात प्रालिका प्रबन्धक राजेश प्रजापतिले जानकारी दिए । उनका अनुसार बसका साहु तथा प्रालिका सञ्चालकसमेत श्रेष्ठ नै हुन् ।
प्रजापतिका अनुसार रसुवामा बाढी आएको जानकारी पाएपछि बुधबार बिहान १०ः३५ बजे चालक श्रेष्ठलाई फोन गरिएको थियो । त्यसबेला फोनको घण्टी गए पनि चालकले फोन नउठाएको र त्यसपछि पटकपटक सम्पर्क गर्दा समेत फोन नलागेको उनले बताए ।
‘रसुवामा बाढी आयो भन्ने थाहा पाएपछि बिहान १०ः३५ मा चालकलाई फोन गरेको थिएँ । त्यतिबेला पूरै घण्टी बज्यो । दोहोर्याएर गर्दा सम्पर्क भएन । अहिलेसम्म कोही पनि सम्पर्कमा आउनुभएको छैन,’ प्रजापतिले भने ।
बस गोसाइँकुण्डतर्फ कुन स्थानसम्म पुगेको थियो भन्नेबारे पनि यकिन जानकारी प्राप्त हुन सकेको छैन । रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएपछि बससमेत जोखिममा परेको हुनसक्ने आशंका गरिएको छ ।
बसमा सवार यात्रु वा चालकसँग सम्पर्क भएका व्यक्ति तथा बसको पछिल्लो अवस्थाबारे कुनै जानकारी पाएका व्यक्तिलाई तत्काल धादिङ मण्डली यातायात समिति वा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन प्रबन्धक प्रजापतिले आग्रह गरेका छन् ।
सुरक्षाकर्मीले बस तथा त्यसमा सवार यात्रुहरूको अवस्थाबारे खोजी तथा उद्धारका लागि प्रयास गरिरहेका छन् ।







