काठमाडौँ, १० भदौः रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् ।
नेपाल प्रहरीका अनसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।
नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, बेत्रावतीमा चार जना, त्रिशूली–काठमाडौँमा तीन जनाको उद्धार गरेको छ ।
त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन, जना, अन्नपूर्ण रसुवाबाट टिचिङ अस्पतालमा चार जनाको उद्धार गरेका छन् । साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा दुई जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा दुई जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा तीन जनाको उद्धार गरेका छन् ।







