काठमाडौं — रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेको छ। पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ७० शव फेला परेका छन् भने ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेका छन्।
उपलब्ध विवरणअनुसार सम्पर्कविहीन सुरक्षाकर्मीमा नेपाल प्रहरीका २६, सशस्त्र प्रहरी बलका ९ र नेपाली सेनाका ४४ जना रहेका छन्। फेला परेका शवको भने सनाखत हुन बाँकी रहेको जनाइएको छ।
यसैगरी, नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार २९१ विदेशी र ९३ नेपाली गरी ३८४ पर्यटक तथा यात्रु सम्पर्कमा आउन बाँकी छन्। उनीहरू बाढीमा बेपत्ता भएको पुष्टि भइसकेको भने होइन। सम्बन्धित निकायबाट विवरण प्रमाणीकरणको काम भइरहेको छ।
बाढीका कारण लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना तथा नेपाल विद्युत् प्राधिकरणका ३५ जना कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
११ जलविद्युत् आयोजना प्रभावित
बाढीबाट रसुवा तथा आसपासका क्षेत्रमा सञ्चालित ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। क्षतिका कारण करिब ४३१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको जनाइएको छ।
भौतिक पूर्वाधारतर्फ १९ वटा पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएका छन्। रसुवादेखि मलेखुसम्म २० वटाभन्दा बढी झोलुङ्गे तथा मोटरेबल पुल बाढीले बगाएको छ। तीमध्ये धादिङबेसी जोड्ने महत्वपूर्ण पुलसमेत रहेका छन्। सडक तथा पुलमा क्षति पुगेपछि कतिपय क्षेत्रमा यातायात सम्पर्क पूर्ण रूपमा प्रभावित भएको छ।
बाढीका कारण आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका कार्यालय समेत बगेका छन्।
दूरसञ्चार र पूर्वसूचना प्रणालीमा क्षति
बाढीले २५ भन्दा बढी दूरसञ्चार साइट प्रभावित भएका छन्। टिमुरे, स्याफ्रुबेँसी तथा नुवाकोट क्षेत्रमा नेपाल टेलिकम र एनसेलका टावर तथा साइटमा क्षति पुगेको छ। अप्टिकल फाइबर तथा चीनसँग जोडिने नेपाल टेलिकमको फाइबर लाइनसमेत क्षतिग्रस्त भएको जनाइएको छ।
त्यस्तै, रसुवा, धादिङ र नुवाकोटका ६ स्थानमा जडान गरिएका बाढी पूर्वसूचना प्रणालीमा क्षति पुगेको छ।
नुवाकोटको विदुर नगरपालिका–६, खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन तथा नेपाल प्रहरी सुरक्षा एकाइको भवनमा समेत क्षति पुगेको छ। बाहिरी पर्खाल र केही सवारीसाधनमा क्षति पुगे पनि कारागारमा रहेका सबै ८०० कैदीबन्दी सुरक्षित रहेको जनाइएको छ।
थप बाढीको जोखिम कायमै
चीनबाट प्राप्त सूचनालाई उद्धृत गर्दै गोरखापत्रले जनाएअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको अवस्था छ। त्यसका कारण भोटेकोशी–त्रिशूली क्षेत्रमा थप बाढीको जोखिम कायमै रहेको बताइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सरकारद्वारा उद्धारलाई उच्च प्राथमिकता
बाढीपछि प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ। सरकारले सबै सरकारी संयन्त्रलाई खोजी, उद्धार, राहत, स्वास्थ्य तथा सुरक्षा व्यवस्थापनमा परिचालन गरेको छ।
परराष्ट्रमन्त्रीले संसद्लाई दिएको जानकारीअनुसार बाढीबाट ९ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। यद्यपि, अन्य स्रोतबाट प्राप्त पछिल्लो विवरणमा ७० शव फेला परेको उल्लेख भएकाले मृतकको संख्या र पहिचानसम्बन्धी विवरण अझै अद्यावधिक तथा प्रमाणीकरणको क्रममा रहेको देखिन्छ।
सरकारले प्रभावित क्षेत्रको खोजी तथा उद्धारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। बाढीबाट प्रभावित ६ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। संकटग्रस्त क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि आवश्यकताअनुसार बिनाअनुमति ड्रोन प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।
सरकारी तथा सुरक्षा निकायका टोलीले सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको खोजी, उद्धार र राहत कार्यलाई निरन्तरता दिइरहेका छन्।






