भोटेकोशी बाढी : नुवाकोटमा ९० प्रतिशत विद्युत् सेवा सुचारु, उद्धारमा तीव्रता

1200x150_1200x150-01.jpg (1)

काठमाडौं , भदौ १३ —

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति भएपछि सरकारले उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका काम अघि बढाएका छन्। मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार बाढीका कारण प्रभावित जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा आवश्यक प्राविधिक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरिएको छ।

हाल नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःसुचारु भएको छ भने रसुवाको धुन्चेमा विद्युत् लाइन सञ्चालनका लागि काम भइरहेको मन्त्रालयले जनाएको छ।

सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको छ। मन्त्रालयले स्थानीयलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि हेलिकप्टर, उपकरण र दक्ष जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। रसुवागढी जलविद्युत् केन्द्रमा फसेका चार कर्मचारी भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको भूमिगत पावरहाउसमा मर्मतका क्रममा फसेका कर्मचारीको उद्धारका लागि विशेष अभियान सञ्चालन भइरहेको छ। पावरहाउस प्रवेश गर्ने केबल टनेलको मुख बाढी र पहिरोले पुरिएपछि नेपाली सेना र प्राविधिक टोलीले उत्खनन् उपकरण प्रयोग गरी बाटो खुलाउने काम गरिरहेका छन्।

नेपाली सेनाले लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा फसेका २५ जना कामदारसहित करिब ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिसकेको मन्त्रालयले जनाएको छ। तर टनेलभित्र अझै एक सयभन्दा बढी व्यक्ति फसेको प्रारम्भिक जानकारी रहेकाले उद्धार टोली परिचालन भइरहेको छ।

यसैबीच, प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थाबारे ऊर्जा मन्त्रालयले आयोजनाका व्यवस्थापक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिसँग समन्वय गरी विवरण अद्यावधिक गरिरहेको छ। प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा कार्यरत एक हजारभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।

रातिको समयमा समेत उद्धार कार्य प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई २०० थान हेडल्याम्प र ९०० थान ब्याट्री उपलब्ध गराइएको छ।

मन्त्रालयले बाढी प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको जीवनरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ।

आवश्यकताअनुसार थप हेलिकप्टर, उद्धार तथा राहत सामग्री, उपकरण र जनशक्ति परिचालन गरिने मन्त्रालयले जनाएको छ।

सम्बन्धित पोस्टहरुः