ठाकुरराम क्याम्पसका प्राध्यापकबारे सात दिनभित्र विवरण माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १३ –

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शिक्षासम्बन्धी उपसमितिले वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापकसँग सम्बन्धित विषयमा आवश्यक विवरण माग गर्ने निर्णय गरेको छ।

क्याम्पसका स्थायी प्राध्यापकहरूले नियमित रूपमा कक्षा नलिएर निजी विद्यालय तथा कलेज सञ्चालन गरी राज्यबाट प्राप्त सेवा–सुविधा दुरुपयोग गरेको आरोपसहित समितिमा उजुरी परेको थियो।

स्थानीय शम्भु प्रसाद यादवले दिएको निवेदनमाथि छलफल गर्दै उपसमितिले क्याम्पससँग सम्बन्धित आवश्यक कागजात तथा विवरण सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो।

निवेदनमा केही प्राध्यापकले क्याम्पसमा हाजिरी मात्र गरेर निजी शैक्षिक संस्था तथा व्यक्तिगत काममा संलग्न हुने गरेको आरोप लगाइएको छ। साथै, क्याम्पसमा भएका नियुक्ति तथा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त रकमसमेत छानबिन गर्न माग गरिएको छ।

उपसमितिले प्राप्त विवरणका आधारमा विषयमा आवश्यक अध्ययन तथा छानबिन अघि बढाउने जनाएको छ।

सम्बन्धित पोस्टहरुः