रामभौरीमा जंगली हात्तीको आतंक, घर भत्काउँदै धानबालीमा क्षति

1200x150_1200x150-01.jpg (1)

पर्सा, १४ भदौ –

पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ रामभौरीमा जंगली हात्तीको आतंक बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। हात्तीले रातको समयमा बस्तीमा प्रवेश गरी घरमा क्षति पुर्‍याउनुका साथै किसानको धानबाली नष्ट गर्न थालेपछि स्थानीय चिन्तित भएका हुन्।

बिहीबार राति करिब २ बजे गाउँमा प्रवेश गरेको जंगली हात्तीले रामभौरीका मुख्तार अन्सारीको फुसको घरमा तोडफोड गरेको स्थानीयले बताएका छन्। हात्तीले घर भत्काउन थालेपछि घरभित्र सुतिरहेका दुई महिला आत्तिएर बाहिर निस्कन सफल भएका थिए।

महिलाहरूले बाहिर आएर स्थानीयलाई खबर गरेपछि आसपासका बासिन्दा जम्मा भएर होहल्ला गरेका थिए। त्यसपछि हात्ती बस्तीबाट भागेको स्थानीयको भनाइ छ।

बस्तीबाट भागेपछि हात्ती खेततर्फ पसेको थियो। स्थानीयका अनुसार त्यस क्रममा करिब पाँच कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ। माथिल्लो सडक हुँदै तलतर्फ जाने क्रममा हात्तीले रामधनी यादवको करिब सात कठ्ठा धानबालीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

साँझ परेपछि त्रास

हात्तीको लगातारको आवतजावतले रामभौरीलगायत आसपासका बस्तीमा रातको समयमा त्रास बढेको छ। घरमै बसे पनि हात्ती कतिबेला बस्तीमा प्रवेश गर्छ भन्ने डरले स्थानीयलाई ढुक्कसँग सुत्नसमेत कठिन भएको उनीहरू बताउँछन्।

“हात्ती कतिबेला आएर घरमा आक्रमण गर्छ भन्ने अनुमान हुँदैन। अहिले त साँझ ४ बजेतिरै खाना बनाएर खाइसक्नुपर्ने अवस्था आएको छ। राति ढुक्कसँग सुत्न पनि गाह्रो भएको छ,” एक स्थानीयले भने।

हात्तीको आवतजावतका कारण खेतीमा निर्भर किसानको कृषि उत्पादन जोखिममा परेको छ। समयमै नियन्त्रणका लागि प्रभावकारी कदम नचालिए घर, अन्नबालीसँगै मानवीय क्षति हुनसक्ने स्थानीयको चिन्ता छ।

प्रत्येक पोलमा बत्ती जडान गर्न माग

जंगली हात्तीको जोखिम न्यूनीकरणका लागि स्थानीयले बस्ती क्षेत्रमा पर्याप्त सडक बत्ती जडान गर्न माग गरेका छन्। हात्ती बढी आवतजावत गर्ने स्थान तथा बस्तीका प्रत्येक पोलमा बत्ती जडान गरी रातको समयमा उज्यालो बनाउने व्यवस्था गर्न उनीहरूको आग्रह छ।

स्थानीयले हात्ती प्रवेश गर्ने सम्भावित क्षेत्रको पहिचान गरी निगरानी बढाउन तथा रातिको समयमा प्रहरी र सम्बन्धित सुरक्षा निकायको गस्ती प्रभावकारी बनाउनसमेत माग गरेका छन्।

हात्ती बस्तीमा प्रवेश गरेको अवस्थामा स्थानीयलाई तत्काल सूचना दिने र सुरक्षित स्थानमा स्थानान्तरण गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ।

स्थानीय तह, प्रहरी, वन कार्यालय तथा सम्बन्धित निकायबीच समन्वय गरी हात्तीको समस्या समाधानका लागि तत्काल ठोस कदम चाल्नुपर्ने स्थानीयको माग छ। समयमै सावधानी नअपनाए जनधन तथा कृषि उत्पादनमा थप क्षति पुग्न सक्ने जोखिम रहेको उनीहरूले बताएका छन्।

सम्बन्धित पोस्टहरुः