बाढीपीडितलाई जगरनाथपुर गाउँपालिकाको ५ लाख ५१ हजार सहयोग

1200x150_1200x150-01.jpg (1)

पर्सा, १४ भदौ –

रसुवा, नुवाकोटलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

गाउँपालिकाका अनुसार निर्वाचित जनप्रतिनिधिहरूले पाउने एक महिनाको सुविधा बराबरको रकमसमेत बाढीपीडितका लागि आर्थिक सहयोग गरिनेछ।

त्यस्तै, गाउँपालिकामा कार्यरत स्थायी कर्मचारीका हकमा नेपाल सरकारको निर्णयबमोजिम आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।

करारमा कार्यरत कर्मचारीबाट समेत सहयोग रकम जुटाइने भएको छ। जसअनुसार अधिकृत स्तरका कर्मचारीको सुरु तलब स्केल बराबर पाँच दिनको तथा सहायक र श्रेणीविहीन कर्मचारीको तीन दिन बराबरको रकम कट्टा गरी आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले भदौ १० गते रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीबाट प्रभावित नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार तथा स्वास्थ्यलाभको कामना गर्दै राहत, उद्धार र पुनर्निर्माणमा सहयोग गर्ने निर्णय भएको उल्लेख छ।

सम्बन्धित पोस्टहरुः