हवाई इन्धन चोरी प्रकरणः आरोपित सुनैनलाई ‘सेटिङमा’ छाडिएको आशंका,प्रहरी भन्छ–‘अदालतकै आदेश हो’

1200x150_1200x150-01.jpg (1)

राधेश्याम पटेल,वीरगंज, १३ भदौ –

हवाई इन्धन चोरी प्रकरणमा पक्राउ परेका सात आरोपितमध्ये पेट्रोल पम्प सञ्चालक सुनैन मियाँलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्ने गरी छाडिएपछि वीरगंजमा ‘सेटिङ’ भएको आशंका व्यक्त हुन थालेको छ । यद्यपि, प्रहरीले भने अन्सारीलाई कुनै आर्थिक चलखेल वा प्रभावका आधारमा नभई पर्सा जिल्ला अदालतको आदेशअनुसार हाजिर जमानीमा रिहा गरिएको स्पष्ट पारेको छ । भदौ ७ गते उनलाई पर्सा जिल्ला अदालतको आदेशमा रिहा गरिएको र हाल उनको उपचार काठमाडौंको अन्नपूर्ण न्यूरो हस्पिटलमा भइरहेको पर्सा प्रहरीले जनाएको छ । गत साउन २१ गते वीरगंज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा रहेको सौदागर आयल सेन्टरमा हवाई इन्धन चोरी गरी बिक्री वितरण भइरहेको आरोपमा प्रहरीले ट्याङ्करसहित सात जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पेट्रोल पम्प सञ्चालक वीरगंज–३ मालपोत चोक बस्ने ५५ वर्षीय सुनैन मियाँ, पम्पका कर्मचारी वीरगंज–१५ लक्ष्मणवा निवासी २३ वर्षीय असलम हवारी, वीरगंज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ तथा मकवानपुरका सन्देश राना मगर, केशर राम सुनार, मन्दसिंह लामा र उमेश राना मगर छन् । प्रहरीका अनुसार भारतको बिहारस्थित इन्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगल, काठमाडौंका लागि आउँदै गरेको २० हजार लिटर क्षमताको ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट इन्धन चोरी भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

ट्याङ्करको सिल उचालेर इन्धन निकालिएको प्रहरीको दाबी

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार सौदागर आयल सेन्टरमा ट्याङ्करबाट अनधिकृत रूपमा हवाई इन्धन निकालेर बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले साउन २१ गते साँझ करिब ५ः१० बजे अनुगमन गरेको थियो । अनुगमनका क्रममा ट्याङ्करमा लगाइएको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचालेर ट्याङ्करबाट इन्धन ग्यालेनमा निकालिरहेको अवस्थामा सातै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा प्रयोग भएको ट्याङ्करलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

सातमध्ये एक जना मात्रै हिरासतबाहिर

पक्राउ परेका सात जनालाई साउन २२ गते म्याद थपका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले पहिलो पटक पाँच दिन र दोस्रो पटक साउन २८ गते थप पाँच दिनको म्याद दिएको थियो । भदौ २ गते पुनः म्याद थपका लागि आरोपितहरूलाई अदालतमा पेश गरिँदा सुनैन मियाँका तर्फबाट अधिवक्ताहरू द्वय प्रमोद साह र मेराज अन्सारीले उनलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गर्दै बहस गरेका थिए । यसअघि साउन २८ गते पनि अधिवक्ता साहले मियाँलाई हिरासतबाहिर राख्न माग गर्दै बहस गरे पनि तत्काल त्यस्तो आदेश नभएको बताइएको छ । भदौ २ गते अदालतले मियाँको स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राख्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । आदेशमा अनुसन्धान पूरा गरी पाँच दिनभित्र अभियोगपत्र दायर गर्न वा अनुसन्धान पूरा हुन नसके मियाँलाई हाजिर जमानीमा रिहा गर्न भनिएको प्रहरीको भनाइ छ । सोही आदेशअनुसार भदौ ७ गते सुनैन मियाँलाई परिवारजनको जिम्मा लगाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

‘मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ अनुसार रिहा’

जिल्ला प्रहरी कार्यालय, पर्साका अधिकारीका अनुसार मियाँलाई कुनै विशेष सुविधा वा आर्थिक चलखेलका आधारमा नभई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम अदालतको आदेशअनुसार हिरासतबाहिर राखेर अनुसन्धान गर्न छाडिएको हो । प्रहरी अधिकारीले भने, ‘अदालतबाट हिरासतमा नराखी अनुसन्धान गर्नू भन्ने आदेश भएको थियो । सोही आदेशअनुसार उहाँलाई हाजिर जमानीमा छाडिएको हो ।’ प्रहरीका अनुसार अभियोगपत्र दायर हुने क्रममा हाजिर जमानीमा रहेका मियाँसमेत अदालतमा उपस्थित हुनेछन् ।

सरकारी वकिल भन्छन् –‘आर्थिक चलखेल भएको छैन’

पर्सा सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोज गुप्ताले सुनैन मियाँलाई हिरासतबाहिर राख्ने विषयमा कुनै आर्थिक चलखेल नभएको दाबी गरेका छन् । उनका अनुसार मुद्दाको प्रकृति र आरोपितको अवस्थालाई हेरेर अदालतले हिरासतमा नराखी अनुसन्धान अघि बढाउन आदेश दिन सक्ने कानुनी व्यवस्था रहेको छ । गुप्ताले सञ्चार माध्यममा आर्थिक चलखेल भएको भन्ने विषयमा आएका समाचार सत्य नभएको दाबी गर्दै यस्तो प्रकृतिको आदेश विगतमा पनि विभिन्न जिल्ला अदालतबाट हुने गरेको बताए ।

स्वास्थ्य समस्याका कारण हिरासतबाहिर राख्न माग

सुनैन मियाँका तर्फबाट बहस गरेका अधिवक्ता प्रमोद साहका अनुसार मियाँ लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् । अधिवक्ता साहले मियाँले दैनिक १८ वटा ट्याबलेट सेवन गर्ने र उनलाई मधुमेह, मुटुसम्बन्धी समस्या तथा आँखाको समस्या रहेको बताए । एउटा आँखामा थप समस्या उत्पन्न भएको र हिरासतमा रहँदा नियमित उपचारमा कठिनाइ भइरहेको दाबी गर्दै उपचारसम्बन्धी कागजातसमेत अदालतमा पेश गरिएको उनले बताए । उनका अनुसार गंगालाल राष्ट्रिय हृदय केन्द्र, नारायणी अस्पताललगायतका स्वास्थ्य संस्थामा गरिएको उपचार तथा औषधिसम्बन्धी कागजात अदालतमा पेश गरिएको थियो ।

‘सेटिङ’को आशंका किन उठ्यो ?

हवाई इन्धनजस्तो संवेदनशील पेट्रोलियम पदार्थ चोरीको आरोपमा एउटै घटनामा पक्राउ परेका सात जनामध्ये छ जनालाई हिरासतमा राखेर अनुसन्धान जारी रहँदा मुख्य आरोपितमध्येका एक मानिएका पेट्रोल पम्प सञ्चालकलाई भने हिरासतबाहिर राखिएपछि स्थानीयस्तरमा प्रश्न उठेको हो । विशेषगरी ट्याङ्करबाट इन्धन निकालिएको स्थान सौदागर आयल सेन्टरका सञ्चालक नै हिरासतबाहिर रहेपछि प्रहरी प्रशासन र न्यायिक प्रक्रियामाथि विभिन्न आशंका व्यक्त हुन थालेका छन् । तर, हालसम्म सुनैन मियाँलाई आर्थिक चलखेल वा प्रभावका आधारमा रिहा गरिएको पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन । प्रहरी र सरकारी वकिलको कार्यालयले भने अदालतको आदेश नै रिहाइको आधार भएको स्पष्ट पारेका छन् ।

अभियोगपत्रपछि खुल्नेछ मुद्दाको थप पाटो

जिल्ला प्रहरी कार्यालय, पर्साले अनुसन्धानसम्बन्धी मिसिल बुधबार नै सरकारी वकिलको कार्यालयमा बुझाइसकेको जनाएको छ । सम्भवतः भदौ १४ गते सरकारी वकिलको कार्यालयले सातै जना आरोपितविरुद्ध अभियोगपत्र दायर गर्ने तयारी गरेको छ । अभियोगपत्र दायर भएपछि अदालतमा थुनछेक बहस हुनेछ । त्यसक्रममा अदालतले आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा अन्य कानुनी व्यवस्थाअनुसार छाड्ने भन्ने निर्णय गर्नेछ । हवाई इन्धन चोरी प्रकरणमा पक्राउ परेका सातै जनामाथिको अनुसन्धान र त्यसपछि हुने न्यायिक प्रक्रियाले ट्याङ्करबाट इन्धन कसरी निकालियो, चोरी भएको भनिएको इन्धन कहाँ बिक्री भयो र घटनामा कस–कसको संलग्नता थियो भन्ने विषय थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पोस्टहरुः