वीरगंज , भदौ १४ –
मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको ११औँ वार्षिकोत्सव समारोह वीरगंजमा सम्पन्न भएको छ। वीरगंजस्थित क्लासिक होटलमा आयोजित समारोहमा सञ्चार, उद्योग–व्यवसायलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्तले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौत्तम, पूर्वअध्यक्ष सुबोध गुप्ता, मधेश प्रदेश मिडिया काउन्सिलकी बन्दना झा, डा. लक्ष्मी थापालगायतको उपस्थिति थियो।
समारोहमा वक्ताहरूले मध्य नेपाल सन्देशले ११ वर्षदेखि स्थानीय तथा राष्ट्रिय सरोकारका विषयलाई प्राथमिकतामा राख्दै नागरिकका आवाज निरन्तर उठाउँदै आएको बताए। स्थानीय समस्या, सामाजिक सरोकार, विकास निर्माण तथा समसामयिक विषयमा पत्रिकाले खबरदारी गर्दै आएको उनीहरूको भनाइ थियो।
प्रमुख अतिथि सांसद पन्तले लोकतन्त्रको सुदृढीकरणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए। उनले पत्रकारितामा सत्य, तथ्य र निष्पक्षतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
प्रविधिको विकाससँगै पत्रकारितामा चुनौतीसमेत थपिएको उल्लेख गर्दै वक्ताहरूले सञ्चारमाध्यमप्रतिको जनविश्वास कायम राख्न जिम्मेवार र तथ्यमा आधारित पत्रकारिता आवश्यक रहेको बताए।
वार्षिकोत्सवका अवसरमा पत्रिकाले ११ वर्षे यात्रामा सहयोग गर्ने पाठक, शुभेच्छुक, विज्ञापनदाता, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि नागरिकका वास्तविक समस्या र सरोकारका विषयलाई प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता पत्रिकाले जनाएको छ।






