पर्सा , भदौ १४ –
भोटेकोशी बाढीका कारण क्षतिग्रस्त त्रिशूली जलविद्युत् ३ए आयोजनाको थुनिएको सुरुङको मुख खोल्न सोमबार बिहान ब्लास्टिङ गरिएको छ।
सुरुङको मुखमा रहेको करिब ४० सेन्टिमिटर मोटाइको ढलान फोर्न बिहान करिब ३ बजे ब्लास्टिङ गरिएको सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्।
तर सुरुङको भित्री भाग पूरै पानीले भरिएका कारण तत्काल सुरुङभित्र प्रवेश गर्न सक्ने अवस्था नरहेको न्यौपानेले बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “राति करिब ३ बजे ब्लास्ट त गरियो तर भित्र पस्ने आशा असम्भव भयो।”
सुरुङको मुख खोल्ने कार्य भने जारी रहेको उनले जानकारी दिएका छन्। भोटेकोशी बाढीपछि आयोजनाको सुरुङ थुनिँदा उद्धार तथा क्षतिको अवस्थाबारे थप अध्ययन गर्न कठिनाइ भइरहेको छ।






