वीरगंज , भदौ १५ –
वीरगंजस्थित नारायणी अस्पतालबाट एक नवजात शिशुलाई चोरी गरी लगिएको घटनामा संलग्न रहेको आशंकामा एक महिलाको खोजी भइरहेको छ।
प्रारम्भिक जानकारीअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजे ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई अस्पतालबाट लगेको बताइएको छ।
प्रहरीका अनुसार तस्बिरमा देखिएकी रातो कुर्ता–सुरुवाल लगाएकी करिब ३० देखि ३५ वर्ष उमेरकी तराई मूलकी देखिने महिलाले शिशुलाई अस्पतालबाट लगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साले शंकास्पद महिलाको खोजतलास तीव्र पारेको जनाएको छ। शिशुको अवस्था पत्ता लगाउन तथा महिलाको पहिचान गर्न प्रहरीले आवश्यक अनुसन्धानसमेत अघि बढाएको छ।
प्रहरीले उक्त महिलालाई देख्ने वा उनको अवस्थिति तथा गतिविधिबारे कुनै जानकारी हुने व्यक्तिलाई तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउन आग्रह गरेको छ।
नवजात शिशुको सकुशल खोजतलासका लागि सर्वसाधारणको सहयोग आवश्यक रहेको भन्दै प्रहरीले सम्भावित पहिचान तथा स्थानसम्बन्धी सूचना उपलब्ध गराउनसमेत अनुरोध गरेको छ।






