पर्सा , भदौ १५ –
के–पप ब्वाय ब्यान्ड ‘स्ट्रे किड्स’का सदस्य ली नोले नेपालमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहतका लागि १० करोड वन (करिब ७२ हजार अमेरिकी डलर) सहयोग गरेका छन्।
उनको व्यवस्थापन कम्पनी जेवाईपी इन्टरटेनमेन्टले सोमबार सहयोगबारे जानकारी दिएको हो। कम्पनीका अनुसार ली नोले अगस्ट २८ मा अन्तर्राष्ट्रिय मानवीय तथा विकास संस्था वर्ल्ड भिजनमार्फत उक्त रकम सहयोग गरेका हुन्।
बाढीबाट प्रभावित बालबालिका तथा परिवारको जीवन रक्षा र जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको जनाइएको छ। सहयोग रकम खाद्य तथा पोषण सहायता, अस्थायी आवास, स्वच्छ पानी तथा सरसफाइजस्ता कार्यक्रममा प्रयोग गरिनेछ।
जेवाईपी इन्टरटेनमेन्टमार्फत जारी वक्तव्यमा ली नोले आफ्नो प्रयासले कठिन समयबाट गुज्रिरहेका मानिसलाई केही भए पनि बल प्रदान गर्ने आशा व्यक्त गरेका छन्। उनले विस्थापित नागरिक तथा राहत कार्यमा खटिएकाहरू चाँडै सामान्य दैनिकीमा फर्कन सकून् भन्ने कामनासमेत गरेका छन्।
ली नोले यसअघि पनि स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन्। उनले सन् २०१४ देखि वर्ल्ड भिजनमार्फत विदेशका बालबालिकालाई प्रायोजन गर्दै आएका छन्।
सन् २०२४ मा उनले विश्वका अति गरिब मुलुकका बालबालिकाका लागि वर्ल्ड भिजनको विश्वव्यापी खाद्य संकट प्रतिकार्य कार्यक्रममा १० करोड वन सहयोग गरेका थिए। त्यसपछि उनी वर्ल्ड भिजनका संस्थापकको नाममा स्थापित ‘बब पियर्स अनर क्लब’का सबैभन्दा कम उमेरका सदस्य बनेका थिए। उक्त क्लबमा कम्तीमा १० करोड वन सहयोग गर्ने दातालाई समावेश गरिन्छ।
त्यस्तै, सन् २०२५ मा ली नोले सामसङ सोल अस्पताल र बिरालो उद्धार संस्था नाबिया साराङ्हेलाई गरी कुल २० करोड वन सहयोग गरेका थिए। अस्पताललाई प्रदान गरिएको रकम गम्भीर रोगबाट पीडित वयस्क तथा बालबालिकाको उपचार र हेरचाहमा खर्च गरिएको थियो।
यसैबीच, स्ट्रे किड्सको पछिल्लो ईपी ‘दिस एन्ड द्याट’ अगस्ट ७ मा सार्वजनिक भएको थियो। उक्त ईपी बिलबोर्ड २०० को शीर्ष स्थानमा प्रवेश गरेको थियो। योसँगै समूहले लगातार नवौँ पटक उक्त चार्टको शीर्ष स्थानमा पुग्ने एल्बमको उपलब्धि हासिल गरेको छ।
समूह हाल ‘दिस एन्ड द्याट’को प्रवर्धनका लागि भ्रमणमा रहेको छ।






