पर्सा , भदौ १७ –
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट देशभर करिब १६ लाख मानिस प्रभावित भएका छन् भने ७ हजार ५७० निजी आवासमा क्षति पुगेको सरकारले जनाएको छ।
शहरी विकास तथा भवन निर्माण विभागका अनुसार नुवाकोटमा ३ हजार ९७७, धादिङमा ३ हजार ४५१, रसुवामा १ हजार ७७९, गोरखामा २६३ र चितवनमा ६१ घरमा क्षति पुगेको छ। निजी आवासतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।
बाढीबाट रसुवा र नुवाकोट अति प्रभावित तथा धादिङ, गोरखा र चितवन मध्यम प्रभावित जिल्लाका रूपमा वर्गीकृत छन्। ४१ पक्की पुल पूर्ण रूपमा बगेका छन् भने थप चार पुलमा क्षति पुगेको छ।
बाढीबाट १९ विद्यालय प्रभावित हुँदा ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन्। ८ विद्यालय पूर्ण र ८ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा ४५ सरकारी भवन तथा सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ।
विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले विस्थापितलाई सार्न सरकारले तीन हप्ताभित्र अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्ने तयारी गरेको छ। स्थायी आवासका लागि प्रतिघर ७ लाख रुपैयाँसम्म अनुदान दिने प्रस्ताव भए पनि मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको विभागले जनाएको छ।






