रौतहटमा विकास निर्माणमा अनियमितता, ५ जनाविरुद्ध आरोपपत्र

1200x150_1200x150-01.jpg (1)

रौतहट , भदौ १८ –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको परोहा नगरपालिका–९ मा धार्मिक संरचना निर्माणका क्रममा अनियमितता गरेको आरोपमा तीन सरकारी कर्मचारी र दुई उपभोक्ता समिति पदाधिकारीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार राधाकृष्ण मन्दिर तथा रामपुर पोखरीको डिलमा शिवनाथ भवन र भैरवनाथ मन्दिर निर्माणका क्रममा स्वीकृत लागतअनुसार काम नगरी वास्तविक कामभन्दा बढी काम सम्पन्न भएको देखाएर सरकारी रकम भुक्तानी लिइएको पाइएको छ।

उक्त योजनाको स्वीकृत लागत अनुमान ५० लाख ६६ हजार ९७५ रुपैयाँ रहेको थियो। स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदनबाट वास्तविक कामभन्दा बढी रकम भुक्तानी भएको खुलेको अख्तियारले जनाएको छ।

आरोपपत्र दायर हुनेमा पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदीपप्रकाश तिमिल्सिना र नितिशकुमार पटेल तथा उपभोक्ता समितिका अध्यक्ष खरेहुर साह तेली र कोषाध्यक्ष कुन्ती देवी छन्।

आयोगले उनीहरूबाट बिगो असुलउपर गरी कैद तथा जरिवानासहितको सजाय मागदाबी गरेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः