मुम्बईबाट ६ बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाइयो

1200x150_1200x150-01.jpg (1)

कलैया । भारतको मुम्बई स्थित बालश्रममा संलग्न रहेका तथा हराएर पुगेका ६ जना बालकको उद्धार गरी नेपाल ल्याइएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्, संरक्षण नेपाल र बाल हेल्पलाइन १०९८ बाराको समन्वय तथा सहकार्यमा ती बालकहरूको उद्धार गरिएको हो। उद्धार गरिएका ६ बालकमध्ये ४ जना बालश्रममा संलग्न रहेका र २ जना हराएर मुम्बई पुगेका थिए।

संरक्षण नेपालका प्रतिनिधि बृजमोहन कुशवाहाको पहल तथा समन्वयमा भारतको मुम्बईस्थित बाल कल्याण समिति र महिला तथा बालबालिका विभागसँग सहकार्य गरी बालकहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो। उद्धार गरिएका बालकहरूमध्ये परोहा नगरपालिकाका २ जना, इशनाथ नगरपालिकाका २ जना, बृन्दावन नगरपालिकाका १ जना र गुजरा नगरपालिकाका १ जना रहेका छन्। उनीहरू १३ देखि १७ वर्ष उमेर समूहका रहेको संरक्षण नेपालले जनाएको छ।

भारतबाट नेपाल ल्याइएका बालकहरूलाई संरक्षण नेपाल, बाल हेल्पलाइन १०९८ बाराका प्रतिनिधि लगायतको रोहवरमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित अभिभावकको जिम्मा लगाइएको छ। बालकहरूलाई उद्धार गर्न भारतको बाल कल्याण समिति मुम्बई तथा महिला तथा बालबालिका विभागसँग आवश्यक समन्वय गरिएको संरक्षण नेपालका बृजमोहन कुशवाहाले जानकारी दिएका छन।

बालश्रमका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा भविष्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले बालश्रम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, बाल अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था र अभिभावकबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएको छ । बालबालिकालाई जोखिमपूर्ण अवस्थामा पुग्नबाट रोक्न अभिभावक तथा समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन्।

सम्बन्धित पोस्टहरुः