एजेन्सी/ राफिन्हा र लामिन यामालले समान दुई गोल गरेपछि बार्सिलोनाले सोमवार क्याम्प नोउमा रायो भालेकानोलाई ५–२ ले हराउँदै ला लिगामा आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ । यस जीतसँगै बार्सिलोना गोलअन्तरका आधारमा लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको १२औं मिनेटमा अल्भारो गार्सियाको उत्कृष्ट पहलमा रायो भालेकानोले अग्रता लिएको थियो । गार्सियाले बार्सिलोनाका डिफेन्डर जुल्स कुन्डेलाई छल्दै पेनाल्टी क्षेत्रमा पास उपलब्ध गराएपछि सर्जियो कामेलोले गोलकीपर जोआन गार्सियालाई बिट गर्दै बल जालीमा पु¥याए ।
पहिलो हाफमा बलमाथि पूर्ण नियन्त्रण कायम गरेको साबिक विजेता बार्सिलोनाले १९औं मिनेटमा खेल बराबरीमा ल्यायो । जाभी एस्पार्टबाट प्राप्त छोटो पासमा राफिन्हाले पेनाल्टी क्षेत्रमा प्रवेश गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।
त्यसको दुई मिनेटपछि लामिन यामालले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्रबाट उनले बायाँ खुट्टाले प्रहार गरेको घुमाउरो बल सीधैं गोलको माथिल्लो कुनामा पुगेको थियो । १९ वर्षीय यामालका लागि क्याटलान क्लबबाट यो ५०औं गोल थियो ।
ह्यान्सी फ्लिकको टोलीले त्यसपछि तेस्रो गोल गरेको ठानेको थियो । रायोका गोलकीपर ड्यानियल कार्डेनासले नियन्त्रणमा लिन नसकेको बलमा कुन्डेले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर)को समीक्षा पछि अफसाइड ठहर गर्दै गोल रद्द गरिएको थियो ।
तर दोस्रो हाफ शुरू भएको केही समयमैं बार्सिलोनाले अग्रता बढायो । ५१औं मिनेटमा एन्थोनी गोर्डनले पेनाल्टी क्षेत्रमा दिएको क्रस रायोका डिफेन्डर फ्लोरियन लेज्युनको खुट्टामा लाग्दै आफ्नै गोलमा पुगेपछि बार्सिलोना ३–१ ले अगाडि बढ्यो ।
५९औं मिनेटमा उनाइ लोपेजले प्रहार गरेको कर्नरमा कामेलोले हेडमार्फत गोल गर्दै रायो भालेकानोलाई खेलमा फर्काउने प्रयास गरे । तर बार्सिलोनाले त्यसपछि पुनः आक्रमणलाई तीव्र बनायो ।
खेल सकिन २० मिनेट बाँकी रहँदा कुन्डेको लामो पासमा गोर्डनले बल नियन्त्रणमा लिए । पेनाल्टी क्षेत्रमा प्रवेश गरेका उनले आकर्षक ब्याकहिलमार्फत राफिन्हालाई पास दिए । अग्रपङ्क्तिमा खेलिरहेका ब्रजीलियन खेलाडी राफिन्हाले उक्त अवसरलाई गोलमा परिणत गर्दै आफ्नो टोलीको अग्रता फराकिलो बनाए । यो तीन खेलमा उनको पाँचौं लिग गोल थियो ।
८२औं मिनेटमा रायो भालेकानोले खेलमा फर्कने अर्को अवसर पाए पनि ¥यान्डी एन्टेकाको पेनाल्टी क्षेत्रको बीचबाट गरिएको बायाँ खुट्टाको प्रहारलाई बार्सिलोनाका गोलकीपर गार्सियाले बचाए ।
निर्धारित समयको ९०औं मिनेटमा करिम अदेयेमीले छोटो पास उपलब्ध गराएपछि यामालले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको सटीक प्रहारले जाली चुम्यो । ड्यानियल कार्डेनासले बचाउने प्रयास गरे पनि बललाई रोक्न सकेनन् ।
यस जीतसँगै बार्सिलोनाले तीन खेलबाट नौ अङ्क जोडेको छ । समान नौ अङ्क रहेको रियल म्याड्रिडलाई गोलअन्तरमा पछि पार्दै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको हो । तीन खेलबाट एक अङ्क मात्र जोडेको रायो भालेकानो भने अङ्कतालिकाको १८औं स्थानमा छ ।






