वीरगंज , भदौ २५ –
वीरगंजको गण्डकस्थित क्लार्क रिसोर्टमा रहेको क्यासिनोसँग सम्बन्धित सार्वजनिक भिडियोमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित अन्य व्यक्ति देखिएको भन्दै उनीहरूको पहिचान र घटनासँगको सम्बन्धबारे निष्पक्ष अनुसन्धान गर्न माग गरिएको छ।
सार्वजनिक भिडियोमा टोपी लगाएका एक व्यक्तिसमेत देखिएपछि उनी जनप्रतिनिधि भएको हुनसक्ने भन्दै विभिन्न चर्चा भइरहेको छ। यद्यपि भिडियोका आधारमा मात्र उनको पहिचान वा कुनै कसुर पुष्टि नहुने भएकाले प्रहरीले भिडियोको प्राविधिक तथा तथ्यगत अनुसन्धान गरी वास्तविकता स्पष्ट गर्नुपर्ने माग गरिएको हो।
सार्वजनिक समाचारअनुसार अध्यक्ष यादवलाई क्यासिनोबाट पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको छ। भिडियोमा देखिएका सबै व्यक्तिको पहिचान, उनीहरू क्यासिनो पुगेको अवस्था र घटनासँगको सम्बन्धबारे अनुसन्धान गरी पुष्टि भएका तथ्य मात्र सार्वजनिक गर्न माग गरिएको छ।
सम्बन्धित व्यक्तिलाई केवल भिडियोमा देखिएको आधारमा दोषी नठहराई अनुसन्धानबाट पुष्टि भएको तथ्यका आधारमा मात्रै नाम तथा पद सार्वजनिक गर्नुपर्नेमा पनि जोड दिइएको छ।






