वीरगंज , भदौ २६ –
कलैया–वीरगंज सडकखण्डअन्तर्गत वीरगंज महानगरपालिका–२३ गार्डेन भ्यु रिसोर्ट नजिकै सुमोको ठक्करबाट मृत्यु भएका युवकको सनाखत भएको छ।
मृतक बारा प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका १९ वर्षीय अलोक कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनका बुबा सुभाषकुमार साहले शुक्रबार बिहान शवको सनाखत गरेका हुन्।
बिहीबार राति करिब ९ः१० बजे वीरगंजबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको थियो। गम्भीर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया हुँदै परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा राति १०ः३५ बजे उपचारका क्रममा मृत्यु भएको हो।
बाराका प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार दुर्घटनामा संलग्न सुमो र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।







