सिरहा , भदौ २६ –
लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा कुटपिट हुँदा १७ वर्षीय युवक घाइते भएका छन् ।
घाइते हुनेमा भगवानपुर गाउँपालिका–५ इनरवाका आयुषकुमार मण्डल रहेका छन् । कुटपिटबाट शरीरका विभिन्न भागमा चोट लागेका उनको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा भगवानपुर गाउँपालिका–२ का १९ वर्षीय राजु यादव र वडा–१ का २० वर्षीय बलराम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले बताएका छन् ।
कुटपिटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






