वीरगंज । राष्ट्रिय बजरंग दल पर्सा जिल्ला समितिको आयोजनामा शनिवार वीरगंजस्थित घडीअर्वा पोखरी परिसरमा समीक्षा तथा रणनीतिक बैठक सम्पन्न भएको छ।
जिल्ला अध्यक्ष विवेक सिन्हाको अध्यक्षतामा सम्पन्न बैठकमा पर्सा जिल्लाभरका संगठनका पदाधिकारी, प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागीता रहेको थियो।
बैठकमा बजरंग दलले विगतमा सञ्चालन गरेका विभिन्न गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संगठनलाई थप अनुशासित, सुदृढ र व्यवस्थित रूपमा अघि बढाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सिन्हाले संगठनको मुख्य शक्ति एकता र बलियो सांगठनिक संरचना भएको बताए।
“देशको बल नै बजरंग दल हो र बजरंग दलको बल भनेकै हाम्रा कार्यकर्ताको अभेद्य एकता हो,” सिन्हाले भने, “आगामी दिनमा हामी सबै साथीभाइ एकजुट भई समाज, संस्कृति र राष्ट्रको हितका लागि निरन्तर रूपमा मैदानमा खट्नेछौँ।”
बैठकमा जिल्लास्तरमा आगामी दिनमा सञ्चालन गरिने सामाजिक तथा राष्ट्रिय हितका विभिन्न कार्यक्रम र कार्ययोजनावारे समेत छलफल भएको थियो। संगठनका गतिविधिलाई ग्रामीण तहसम्म विस्तार गर्दै युवाहरूलाई राष्ट्र निर्माणका अभियानमा जोड्ने विषयमा समेत बैठकले जोड दिएको जनाइएको छ।
बैठकमा संगठनको सांगठनिक संरचना थप प्रभावकारी बनाउने, कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउने तथा सामाजिक गतिविधिमा सक्रिय सहभागीता जनाउने विषयमा छलफल भएको थियो।
‘जय श्री राम’को जयघोषसहित उत्साहजनक वातावरणमा सम्पन्न बैठकले आगामी दिनमा संगठनका अभियान तथा कार्यक्रमलाई थप प्रभावकारी र सशक्त रूपमा अघि बढाउने संकल्प गरेको आयोजकले जनाएको छ।







