सप्तरी , भदौ २८ –
रुपनी गाउँपालिका–२ का ८५ वर्षभन्दा माथिका सीतावीप्रसाद साह र शान्तिदेवी साहले आफूहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट १० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन्।
भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि साह दम्पतीले शुक्रबार राष्ट्रिय वाणिज्य बैंकमा रहेको राहत कोषको खातामा रकम जम्मा गरेका हुन्।
दम्पतीका ज्येष्ठ सुपुत्र योगेन्द्रप्रसाद साहका अनुसार आफ्ना लागि खर्च नगरी भत्ताबाट बचत भएको रकम विपद्मा परेका नागरिकको सहयोगका लागि प्रदान गरिएको हो। दम्पतीले जनही मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्।
आफूले पाउने भत्तामध्ये केही रकम बचाएर विपत्तिमा परेकालाई सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम दिएको योगेन्द्रप्रसादले बताएका छन्। ज्येष्ठ नागरिक दम्पतीको यो सहयोगले विपत्तिमा परेका नागरिकप्रति मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।







