पोखरिया , भदौ २७ –
पोखरिया नगरपालिका–३ बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना स्वीकृत भएको छ।
लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसको प्रथम डिस्ट्रिक्ट क्याबिनेट बैठकले परियोजना स्वीकृत गरेको हो। लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीको पहल र समन्वयमा परियोजना अघि बढाइएको जनाइएको छ।
परियोजनाले ग्रामीण क्षेत्रका बालबालिकाका लागि सुरक्षित तथा व्यवस्थित शैक्षिक वातावरण निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परियोजना स्वीकृतिका लागि सहयोग गर्ने डिस्ट्रिक्ट ३२५ एसका अध्यक्ष लायन रामबिहारी पाण्डेयसहित पदाधिकारी तथा सदस्यप्रति लायन्स क्लब अफ पोखरियाले आभार व्यक्त गरेको छ। सो अवसरमा अध्यक्ष शमानीलाई लायन्स क्लबको पिन लगाएर सम्मान गरिएको थियो।






