एआईबाट नक्कली कागजात बनाएर विदेश पठाउने भन्दै ५० लाख ठगी, युवक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ २९ –

वैदेशिक रोजगारीका लागि सर्बियालगायतका देश पठाइदिने भन्दै करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले बाराका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका–१ का करिब २३/२४ वर्षीय सागर पटेल रहेका छन् । वीरगंज महानगरपालिका–२८ बगहीका ओमप्रकाश राउतका अनुसार पटेलले सर्बियालगायतका देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई आकर्षक तलबको प्रलोभन देखाएर रकम लिएका थिए ।

पटेलले नपढेलेखेका व्यक्तिले समेत विदेशमा मासिक एक लाख रुपैयाँसम्म कमाउन सक्ने भन्दै विश्वास दिलाएको पीडितहरूको भनाइ छ । विदेश पठाउने प्रक्रिया पूरा भएको देखाउन उनले एनोसी, भिसालगायतका कागजातसमेत च्याटजीपीटी तथा अन्य एआई प्रविधिको प्रयोग गरेर तयार गरी पीडितलाई देखाएको आरोप लगाइएको छ ।

पीडितका अनुसार वीरगंज–२२ का रन्जित यादवबाट ६ लाख रुपैयाँ र सोही स्थानका विवेक यादवबाट ३ लाख रुपैयाँ लिइएको छ । वीरगंज–१४ का दीपक कुमार पटेलबाट ३ लाख ४० हजार, वीरगंज–६ रहरियाका चन्दन कुमार पटेलबाट ६ लाख ५० हजार र वीरगंज–१४ का निरन्जन साहबाट ६ लाख ७५ हजार रुपैयाँ लिएको उनीहरूको दाबी छ ।

त्यस्तै, जगरनाथपुरका सरोज पटेलबाट ६ लाख, वीरगंज–१४ का मुनिलाल पटेलबाट ७ लाख तथा लक्षुमनवाका प्रकाश गिरीबाट ६ लाख ५० हजार रुपैयाँ लिएको पीडितहरूले बताएका छन् ।

विदेश पठाउने भन्दै रकम लिएपछि पटेलले प्रक्रिया अघि नबढाएको र आफूहरूले दिएको रकमसमेत फिर्ता नगरेको पीडितहरूको आरोप छ । रकम फिर्ता माग्दा विभिन्न बहाना बनाउँदै आएको उनीहरूको भनाइ छ ।

पीडितहरूले आफूहरूले बुझाएको रकम फिर्ता गराउन तथा सागर पटेलमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । प्रहरीले पटेललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित पोस्टहरुः