वीरगंज , भदौ २९ –
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मधेश प्रदेशका खेलकुदसम्बन्धी पदाधिकारीले वीरगंजस्थित राधेमाई कुस्ती अखाडाको अवलोकन तथा निरीक्षण गरेका छन्।
मधेश खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव सुशील साह, मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी गुप्ता र इन्जिनियर शिवचन्द्र यादवसहितको टोलीले अखाडाको निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा टोलीले प्रशिक्षणरत कुस्ती खेलाडीसँग भेटघाट गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी, मनोबल र उत्साह बढाउन प्रेरित गरेको जनाइएको छ। खेलाडीले प्रशिक्षणका क्रममा भोग्नुपरेका समस्या तथा आवश्यकताबारे समेत पदाधिकारीलाई जानकारी गराएका थिए।
पदाधिकारीहरूले राधेमाई कुस्ती अखाडामा आवश्यक भौतिक संरचना तथा शेड निर्माण र व्यवस्थापनको काम असोज महिनाभित्र गर्ने प्रतिबद्धता जनाएको अखाडा परिवारले जनाएको छ।
अखाडाका खेलाडी तथा व्यवस्थापन पक्षले संरचना निर्माणको प्रतिबद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै खेलाडीको भविष्य र कुस्ती खेलको विकासमा सहयोग पुग्ने बताएका छन्।








