वीरगंज । वीरगंजस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो) प्रकरणमा पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका पूर्व प्रहरी निरीक्षक प्रदीप पौडेल धरौटीमा रिहा भएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको इजलासले गापा अध्यक्ष्F जसवन्त यादवलाई २५ हजार, इलाका प्रहरी कार्यालय पोखरियाका पूर्व प्रहरी निरीक्षक प्रदीप पौडेललाई १८ हजार, ओमप्रकाश बैठा, परदेशी साहलाई जनही १५–१५ हजार र अन्य चारजनाको हकमा जनही २० हजार रुपियाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी गराए ।
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले गत शनिवार राति गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोनमा छड्के कारबाही गरेको थियो।
कारबाहीका क्रममा गाउँँपालिका अध्यक्ष यादव, इलाका प्रहरी कार्यालय पोखरियाका पूर्व प्रहरी निरीक्षक पौडेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नेपालको प्रचलित कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउन तथा जुवा खेल्न–खेलाउन निषेध गरिएको छ। सोही विषयमा प्रहरीले क्यासिनोमा छड्के कारबाही गरेको जनाएको छ।






