पर्सा , भदौ ३० –
प्रमुख प्रतिपक्षी नेकपा एमालेले विपत्तिका बेला सरकार एक्लैले सबै काम गर्न सक्ने भन्ने मानसिकता नराख्न आग्रह गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले बाढीपछि गर्नुपर्ने तत्कालका काममा सरकार केही ठाउँमा चुकेको आरोप लगाइन् । उनका अनुसार सरकारले सार्वजनिक आह्वान, कूटनीतिक पहल तथा विज्ञ र प्राविधिक जनशक्तिको परिचालनमार्फत थप सहयोग जुटाउन सकेन ।
अर्यालले विपद्को अनुभवबाट सिक्दै सरकारले तत्काल सर्वदलीय बैठक बोलाएर छलफल गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताइन् । उनले प्रधानमन्त्रीलाई देश र जनताको माया सरकारमा रहेका र प्रतिपक्षमा रहेका सबैलाई समान रहेको भन्दै सहकार्यबाट विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरिन् ।
‘विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्,’ उनले भनिन्, ‘काम नै भएन भन्न खोजेको होइन, अझ बढी गर्न सकिन्थ्यो ।’







