जनकपुरधाम , भदौ ३० –
धनुषाको विदेह नगरपालिकाबाट अपहरणमा परेका १५ महिने बालकलाई प्रहरीले झन्डै दुई सातापछि सकुशल फेला पारेको छ ।
भदौ १८ गते विदेह नगरपालिका–६ का कमलेश महतोका छोरा सिद्धान्त अपहरणमा परेका थिए । खोजीका क्रममा प्रहरीले विदेह–१ स्थित दशगज्जा क्षेत्रबाट गएराति बालकलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बालकलाई छाडेर भाग्न खोजेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवान पक्राउ परेकी छन् । प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अपहरणको सूचना पाएलगत्तै तालिम प्राप्त कुकुरसहित परिचालन गरिएको प्रहरी टोलीले खोजी तीव्र पारेको थियो ।
प्रहरी टोली बालक राखिएको स्थानमा पुगेपछि पासवानले उनलाई छाडेर भाग्न खोजेकी थिइन् । पक्राउ परेकी पासवानमाथि अनुसन्धान भइरहेको छ भने उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।







