सर्लाही , भदौ ३० —
सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मलंगवा–नवलपुर सडकखण्डमा मंगलबार साँझ मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मधेस प्रदेशको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र भारतीय मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो।
दुर्घटनामा अन्य दुई जना पनि गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।







