पर्सा , भदौ ३१ —
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको आज २२औँ दिन भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा अहिलेसम्म १ हजार ३९९ जनाको शव भेटिएको छ भने ५ हजार १७९ जना अझै सम्पर्कविहीन छन्।
सबैभन्दा धेरै चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२ र रसुवामा १८९ शव भेटिएका छन्। यस्तै, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव भेटिएको छ। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको छ।
बाढीपछि १३ हजार ७४२ जनाको उद्धार गरिएको छ। विभिन्न १९ अस्पतालमा ३४३ जनाको उपचार गरिएकोमा २८२ जना डिस्चार्ज भइसकेका छन्।
सम्पर्कविहीनको खोजी, घाइतेको उपचार तथा राहत व्यवस्थापनको काम जारी रहेको प्राधिकरणले जनाएको छ।
बाढीबाट भएको क्षति पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा ७ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ।







