वीरगंज , भदौ ३१ —
पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धिप्रसाद (हरि) पन्तले अरूको नागरिकता दुरुपयोग गरी कम्पनी तथा बैंक खाता सञ्चालन गरेर राजस्व छली गर्ने र निर्दोष नागरिकलाई कानुनी फन्दामा पार्ने प्रवृत्तिबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा बोल्दै सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्रका पविन्द्र साह गोढको घटना यसको उदाहरण भएको बताएका छन्। उनका अनुसार सामान्य चिनजानका व्यक्तिले गोढको नागरिकता दुरुपयोग गरी कम्पनी दर्ता गर्नुका साथै बैंक खाता खोलेर पावर अफ अटर्नीसमेत आफूसँग राखेका थिए।
पन्तका अनुसार उक्त कम्पनीमार्फत भएको राजस्व छलीको मुद्दामा उच्च अदालत पाटनले गोढलाई ३ करोड रुपैयाँभन्दा बढी जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको थियो। कम्पनी र बैंक खाता सञ्चालनबारे अनभिज्ञ रहेका गोढलाई पछि प्रहरीले पक्राउ गरी कारागार पठाएको उनले बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा मात्रै यस्ता आधा दर्जन घटना रहेको दाबी गर्दै पन्तले नागरिकता दुरुपयोग गरी फसाइएका निर्दोषलाई न्याय दिन र वास्तविक दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले नागरिकताको दुरुपयोग, कम्पनी दर्ता, बैंक खाता सञ्चालन तथा राजस्व छलीमा संलग्न वास्तविक व्यक्तिको पहिचान गरी अनुसन्धान गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।






