सप्तरी , भदौ ३१ —
सप्तरीको बोदे बर्साइन नगरपालिका–१० अमरैयामा चट्याङ लागेर बाबुछोरीको मृत्यु भएको छ।
मंगलबार आफ्नै खेतमा धान गोडिरहेका बेला चट्याङ पर्दा ५५ वर्षीय भोला साह र उनकी १८ वर्षीया छोरी मधुकुमारी साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जनाएका छन्।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै जनाको शव अन्तिम संस्कारका लागि आफन्तलाई जिम्मा लगाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






