वीरगंज , असोज १ –
जिल्ला प्रहरी कार्यालय, पर्सामा रहेका थुनुवा तथा कार्यरत प्रहरी कर्मचारीको नियमित स्वास्थ्य परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगंज हेल्थ केयर प्रालिबीच सम्झौता भएको छ ।
२०८३ भदौ ३१ गते भएको सम्झौतामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र वीरगंज हेल्थ केयर अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रत्येक शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म प्रहरी कार्यालय परिसरमै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले थुनुवा र प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन् ।
थप उपचार आवश्यक परेका बिरामीलाई नेपाल सरकार तथा स्वास्थ्य बीमा बोर्डले तोकेको दररेटअनुसार उपचार सेवा उपलब्ध गराइनेछ । यस्तै, आमा सुरक्षा, खोप तथा डायलाइसिसलगायत सरकारी स्वास्थ्य कार्यक्रमअन्तर्गतका सुविधा नियमानुसार निःशुल्क उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।
न्युरो, कार्डिएक तथा स्पाइनल इन्जुरीसम्बन्धी उपचार आवश्यक परेमा विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गत नियमानुसार एक लाख रुपैयाँसम्मको उपचार छुट वा सहुलियत उपलब्ध गराइनेछ ।
थुनुवालाई आकस्मिक स्वास्थ्य परीक्षण वा उपचार आवश्यक परेमा दुवै पक्षबीच समन्वय गरी निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
सम्झौता लागू भएको मितिदेखि एक वर्षसम्म कायम रहनेछ । दुवै पक्षको सहमतिमा सम्झौता पुनः नवीकरण गर्न सकिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








