बारा , असोज १ –
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट मृत्यु हुने घटना दोहोरिन थालेका छन्। उपमहानगरपालिका–४ औराहाकी मन्जु बन्जराको सर्पको टोकाइबाट मृत्यु भएपछि स्थानीयस्तरमै सर्पदंश उपचार सेवाको आवश्यकता पुनः उठेको छ।
यसअघि असारमा एक साताभित्रै जीतपुरसिमरा–१५ डुमरवानाकी चार वर्षीया सुप्रिना दोङ र जीतपुरसिमरा–१४ मौलापुरकी पाँच वर्षीया दियान्सी रानामगरको सर्पदंशबाट मृत्यु भएको थियो। दुवै बालिकालाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको समाचार प्रकाशित भएका थिए।
त्यसपछि जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालबाटै सर्पदंश उपचार सेवा सञ्चालनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय तथा आवश्यक अनुमति मागेको थियो। महाशाखाबाट आवश्यक औषधि र स्वीकृति प्राप्त भए सेवा सुरु गर्न सकिने स्वास्थ्य शाखाले जनाएको थियो।
तर स्थानीयका अनुसार सर्पदंश उपचार सेवा प्रभावकारी रूपमा सञ्चालनमा नआउँदा विषालु सर्पले टोकेका बिरामीलाई अझै वीरगञ्ज वा कलैयातर्फ लैजानुपर्ने अवस्था छ। पछिल्लो पटक मन्जु बन्जराको मृत्युले उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराउनुपर्ने मागलाई पुनः बलियो बनाएको छ।
स्थानीयका अनुसार यस वर्ष मात्रै सर्पदंशबाट दुई बालबालिकासहित एक महिलाको मृत्यु भएको छ। समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सिमरा अस्पतालमै आवश्यक पूर्वाधार, औषधि र अनुमति उपलब्ध गराई तत्काल सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको र अनुमति प्राप्त भएपछि सेवा सुरु गर्न सकिने विषयमा यसअघि उपमहानगरपालिकाले जनाएको थियो।






