बारा , असोज २ –
जितपुर सिमरा उपमहानगरपालिका–१९ इनर्बासिरामा ५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय हसन जान मियाँलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार राति करिब ९ः३० बजे घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट टोली घटनास्थल पुगेको थियो। आरोपितलाई नियन्त्रणमा लिने क्रममा स्थानीयवासी आक्रोशित भएपछि प्रहरी र स्थानीयबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बाराबाट थप प्रहरी परिचालन गरिएको थियो। प्रहरीले सामान्य बल प्रयोग गरी आरोपितलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय सिमरा पुर्याएको जनाएको छ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचारको प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






