वीरगंज , असोज २ –
भारतको बिहारस्थित मुजफ्फरपुरमा अलपत्र अवस्थामा फेला परेकी ३६ वर्षीया नेपाली युवतीलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।
धादिङको थानबेसी गाउँपालिकाकी सानुमाया तामाङ ११ महिनादेखि परिवारको सम्पर्कमा नरहेकी थिइन्। उनलाई गत साता मुजफ्फरपुर प्रहरीले अलपत्र अवस्थामा फेला पारी स्थानीय शान्ति कुटीर आश्रममा राखेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा मानव सेवा आश्रम वीरगंजको टोलीले गत शनिबार भारतबाट उद्धार गरी उनलाई वीरगंज ल्याएको थियो।
उद्धारपछि परिवारसँग सम्पर्क भएपछि शुक्रबार पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको रोहबरमा बुवा गुणासिंह तामाङको जिम्मा लगाएर घर पठाइएको मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले बताएका छन्।






