पर्सा , असोज २-
रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीन घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ।
भदौ २ गते दयाराम साहको घरबाट तीन थान मोबाइल, मनोज साहको घरबाट करिब ५ हजार रुपैयाँ र रामाज्ञा साहको घरबाट ८ हजार रुपैयाँ तथा एक थान मोबाइल चोरी भएको थियो।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो। अनुसन्धानका क्रममा दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरन्डामा रहेको खाटबाट एक थान लाइभ राउन्ड लोडेड कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।
बरामद पेस्तोल नियन्त्रणमा लिएर चोरी तथा हतियारसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






