वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रहरी निरीक्षक हरि भुसाललाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।
विशेष अदालतबाट सफाई पाएपछि महानगरको मेयर पदमा स्वतः बहाल भई पुन पदभार ग्रहण गरेका मेयर राजेशमान सिंहले नगर प्रहरी निरीक्षक भुसाललाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएका हुन् । यस्तै नगर प्रहरी नायब निरीक्षक लक्ष्मण लुइटेलको पनि जिम्मेवारी खोसिएको छ ।
असोज १ गतेदेखि लागू हुने गरी नगर प्रहरी निरीक्षक भुसाल र नगर प्रहरी नायब निरीक्षक लुइटेललाई जिम्मेवारीबाट हटाइएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले पनि पुष्टि गरे ।
नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट अवकाशप्राप्त भुसाललाई यसअघिका तत्कालीन मेयर विजयकुमार सरावगीको कार्यकालमा नगर प्रहरी प्रमुखमा नियुक्त गरिएको थियो । भुसाल र लुइटेललाई जिम्मेवारीबाट हटाउनुको कारण भने वीरगंज महानगरपालिकाले सार्वजनिक गरेको छैन ।






