रानीघाट कुटपिट घटनामा हिन्दुवादी नेता रञ्जन सिंह पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, ६ असोज । रानीघाट कुटपिट घटनामा हिन्दुवादी नेता रञ्जन सिंह पक्राउ परेका छन् । सामान्य विवादका क्रममा भएको झडपमा तीन जना घाइते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिंहलाई पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका–११, रानीघाट चोकमा मंगलबार दिउँसो दुई समूहबीच झडप भएको थियो। झडपका क्रममा प्रहरीले सिंहलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

झडपमा चन्दनकुमार गुप्ता, कृष्णकुमार साह र आकाश कुशवाहा घाइते भएका छन्। घाइतेमध्ये चन्दनकुमार गुप्ताको अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएकोमा थप उपचारका लागि रेफर गरिएपछि हाल बयोधा अस्पतालमा उपचार भइरहेको छ।

घाइते पक्षका पारिवारिक स्रोतका अनुसार यसअघि लेनदेनसम्बन्धी मुद्दामा पक्राउ परेका सिंहले आफू पक्राउ पर्नुमा घाइते पक्ष जिम्मेवार रहेको भन्दै गालीगलौज गरेका थिए। सोही विषयमा सोधपुछ गर्न उनीहरू सिंहको पसलमा पुगेका थिए।

सिंहका भाइ चन्दन सिंहसँग सामान्य कुराकानी भइरहेका बेला एक दर्जनभन्दा बढी युवाको समूहसहित रञ्जन सिंह पसलमा पुगेको र आफूहरूमाथि आक्रमण गरेको घाइते पक्षको दाबी छ। उनीहरूले सिंहले रडसमेत प्रहार गर्न खोजेको आरोप लगाएका छन्। स्थानीय र प्रहरीको सहयोगमा आफूहरू जोगिएको उनीहरूको भनाइ छ।

घाइते कृष्णकुमार साहका अनुसार सिंहको समूहले कुटपिट गर्न थालेपछि आफूहरू ज्यान जोगाउन रानीघाट प्रहरी चौकीतर्फ भागेका थिए। उनका अनुसार सिंहको समूहले पछ्याउँदै प्रहरी चौकीसम्म पुगेर समेत कुटपिट गरेको थियो।

घाइते पक्षले सिंहले प्रहरी हिरासतबाट समेत आक्रमण गर्ने प्रयास गरेको र छुटेर आएपछि ज्यान मार्ने धम्की दिएको आरोप लगाएको छ। यी आरोपबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यता, सिंह पक्षले भने आफूहरूको पसलमा पुगेर गालीगलौज गरेपछि झडप भएको दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा झडपको नेतृत्व गरेको आरोप लागेका रञ्जन सिंह र विकास साह रहेका छन्। घटनामा सहभागी भनिएका रञ्जन सिंहका भाइ चन्दन सिंह भने फरार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए। घटनामा को दोषी हो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने भन्दै उनले दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही हुने बताए।

भर्खरै

सम्बन्धित पोस्टहरुः