वीरगंज , असोज ९ –
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै विश्वव्यापी आपूर्ति प्रणालीको असमानता, जलवायु न्याय र नेपालले भोगिरहेको जलवायु संकटबारे धारणा राखेका छन्।
प्रधानमन्त्री शाहले हतियार आपूर्तिका लागि ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा सामान पुर्याउन सक्ने प्रभावकारी प्रणाली रहे पनि किसानका लागि आवश्यक मल र इन्धन आपूर्ति प्रणाली कमजोर रहेको बताए। ‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ,’ उनले भने।
उनले आफूले तिर्न सक्ने देशका नागरिकले आवश्यक वस्तु किन्न पाउनुपर्ने भन्दै किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्ने कुनै बहाना हुन नसक्ने बताए। आपूर्ति प्रणालीको कमजोरी र जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील देशका नागरिकले आफूले सिर्जना नगरेका संकटको भार बोक्नुपरेको उनको भनाइ थियो।
शाहले जलवायु न्याय पैसा मात्र नभई वितरणात्मक र प्रक्रियागत न्यायको विषय भएको बताए। यसको लागत कसले बेहोर्ने र कसको आवाज सुनिने भन्ने प्रश्न महत्वपूर्ण रहेको उल्लेख गर्दै हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको भविष्यलाई समान महत्त्व दिनुपर्ने बताए। ‘सगरमाथादेखि समुद्रसम्म’ हुने साइड इभेन्टमार्फत नेपाल यस संवादको नेतृत्व गर्न तयार रहेको पनि उनले बताए।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनको ठूलो मूल्य नेपालले चुकाइरहेको शाहले बताए। उनले जलवायु महाविपत्ति नेपालका लागि मानवीय घटनामात्र नभई ‘विकासको आपत्काल’ भएको बताए।
नेपालले अति कम विकसित देश भएर पनि आफ्नो दायित्वभन्दा बढी योगदान गरिरहेको दाबी गर्दै उनले देशको आधाजसो भूभाग वनजङ्गलले ढाकिएको, जलविद्युत् उत्पादनमार्फत प्रदूषणकारी ऊर्जालाई विस्थापित गर्ने प्रयास भइरहेको र विद्युतीय सवारीसाधनको प्रवर्द्धन अघि बढाइएको जानकारी दिए। स्थानीय तहमा जलवायु अनुकूलनका कामलाई थप बलियो बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले बढी जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै शाहले ‘जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन’ भने। नागरिकले विगतको पुनर्निर्माणमा मात्र सीमित नभई आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्ने उनको भनाइ थियो।






