वीरगंज , असोज ९ –
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका हुन्।
गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै नेपालप्रति आफ्नो सद्भाव कायमै रहने बताएका थिए। उनले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए। उनले भोटेकोशी विपद्बाट ठूलो क्षति भएको र हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराएका थिए।
भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा अतिकम विकसित राष्ट्रको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न संयुक्त राष्ट्रसंघको समर्थनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।






