वीरगंज । वीरगंजको मुख्य सडक विस्तारसँगै विद्युत तार भूमिगत गर्न वीरगंज महानगरपालिकाले माग गरेको छ ।
नगरप्रमुख राजेशमान सिंहले सडक डिभिजन कार्यालय, हेटौंडाका प्रमुख किरण कार्कीको कार्यकक्षमा पुगेर भूमिगत विद्युत प्रणाली निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न पत्र बुझाएका हुन् ।
मुख्य सडक विस्तारपछि पुनः ओभरहेड प्रणालीबाट विद्युत तार राख्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै महानगरले सडक विस्तारकै क्रममा विद्युत तार भूमिगत गर्न माग गरिएको छ ।
त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्ड विस्तारको काम अघि बढिरहेका बेला विद्युत पोल तथा तारको व्यवस्थापनसमेत दीर्घकालीन रूपमा गर्नुपर्ने महानगरको धारणा छ।
यसअघि पनि महानगर प्रमुख सिंहले आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग माग गर्दै पत्राचार गर्नुभएको थियो । महानगरले सडक विस्तारसँगै विद्युत प्रणालीलाई भूमिगत बनाउन सम्बन्धीत निकायबीच आवश्यक समन्वय र बजेट व्यवस्थापनमा जोड दिएको छ।







