‘इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा यूएईको गोप्य भ्रमण’

1200x150_1200x150-01.jpg (1)

तेल अभिभ, १२ असोज: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग छलफल गर्नुभएको छ ।

अमेरिकी समाचार संस्था सीएनएनले यस विषयमा जानकार एक इजरायली स्रोतलाई उद्धृत गर्दै यो भ्रमणबारे खुलासा गरेको हो ।

सीएनएनले दुई नेताबीचको कुराकानी मुख्य रूपमा इरानसम्बन्धी क्षेत्रीय चिन्तामा केन्द्रित भएको रिपोर्ट गरेको छ ।

तर, रिपोर्ट गरिएको यो गोप्य भ्रमणलाई समाचार तयार पार्दासम्म इजरायली प्रधानमन्त्रीको कार्यालय वा यूएई नेतृत्वले पुष्टि गरेको छैन ।

यसअघि पनि यसै वर्ष नेतन्याहूले यूएईको गोप्य भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको इजरायली सैन्य अभियानका बीचमा संयुक्त अरब इमिरेट्सको भ्रमण गरी राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गरेको बताएको थियो ।

यसपहिलेको भ्रमणपछि सामाजिक सञ्जालमा इजरायली प्रधानमन्त्रीको कार्यालयको वक्तव्यलाई उद्धृत गरिएका सार्वजनिक पोस्टहरूमा भनिएको थियो, “इरानविरूद्धको कारबाहीबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गोप्य रूपमा संयुक्त अरब इमिरेट्सको भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग मध्यपूर्व युद्धका विषयमा छलफल गर्नुभएको छ ।” तर, इजरायली प्रधानमन्त्रीको कार्यालयको घोषणा लगत्तै यूएईले इजरायली प्रधानमन्त्री वा कुनै इजरायली सैन्य प्रतिनिधिमण्डलको भ्रमणसम्बन्धी रिपोर्टहरूलाई अस्वीकार गरेको थियो।

यूएईको परराष्ट्र मन्त्रालयले रिपोर्टहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दै भनेको थियो, “यूएईले इजरायलसँगको आफ्नो सम्बन्ध सार्वजनिक रहेको र प्रख्यात तथा आधिकारिक रूपमा घोषित अब्राहम सम्झौताको ढाँचाभित्र सञ्चालित रहेको पुनःपुष्टि गर्दछ र यो गैर–पारदर्शी वा अनौपचारिक व्यवस्थामा आधारित छैन। त्यसैले, घोषणा नगरिएका भ्रमण वा खुलासा नगरिएका व्यवस्थासम्बन्धी कुनै पनि दाबी यूएईका सम्बन्धित अधिकारीहरूद्वारा आधिकारिक रूपमा घोषणा नगरिएसम्म पूर्ण रूपमा आधारहीन छन्।” रासस/एएनआई

सम्बन्धित पोस्टहरुः