वीरगन्ज,१५असाेज:नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीले जाफिरलाई बुधबार वीरगन्जबाट पक्राउ गरेको हो ।
जगरनाथपुर गाउँपालिका–५ मा स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।जाफिर भैंसी तथा पाडा व्यापारी हुन् ।
प्रहरीका अनुसार जाफिरमाथि जगरनाथपुर गाउँपालिका–४ घर भएकी आफ्नी सालीको हत्या घटनामा संलग्न रहेको आरोप छ । यसअघि त्यही घटनाकाे अनुसन्धानका क्रममा जाफिरका दाजु नासिर अहमद मन्सुरीलाई पनि प्रहरीले असाेज ३ गते नै पक्राउ गरिसकेको छ । नासिर पनि अहिले प्रहरी हिरासतमै छन् ।
२०७८ साल असाेज २१ गते जालिमका कान्छा छाेरा जाफिर अहमद मन्सुरीकी सालीको शव प्रहरीलाई खबर नै नगरी वीरगन्ज-१३ मुर्लीकाे कब्रस्तान (शमशान घाट)मा दफन गर्ने (गाड्ने) क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।शव गाड्ने क्रममा नासिर,जाफिर लगायतका व्याक्तिहरु पनि संलग्न रहेकाे आराेप थियाे।त्यसबेला जाफिरकी अविवाहित सालीकाे जबर्जस्ती करणी गरिएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त भएपछि गाउँकै क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको थियाे।त्यसपछि उनकाे शव वीरगन्जको मुर्लीमा ल्याएर गुपचुप रुपमा कब्रस्तानमा गाड्ने प्रयास गरिएको थियाे।
उक्त घटनामा अनुसन्धान अघि बढाउँदै आएको प्रहरीले हत्या आरोपमा करिब पाँच वर्षपछि अहिले जाफिर र नासिरलाई पक्राउ गरेको हो ।
५ वर्ष अघि जालिमकाे राजनीतिक पहुँचको आधारमा प्रहरीले उक्त मुद्दाकाे अनुसन्धान अगाडि नबढाएको आरोप लागेको थियो । प्रहरीले ५ बर्षपछि अहिले आएर मुद्दाको अनुसन्धान अगाडी बढाएकाे हाे।उक्त घटनामा संलगन अन्य आरोपित व्याक्तिहरु फरार रहेको र उनिहरुकाे पनि खाेजी भइरहेको प्रहरीले जनाएको छ।






