वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३ स्थित अनिशमान सिंहको निजी घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा रंजन सिंह राजपुत पुर्पक्षका लागि कारागार चलान भएका छन्।
आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले राजपुतलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार पठाउने आदेश दिएको हो। न्यायाधीश सरिता रायमाझीको एकल इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
प्रहरीका अनुसार गत २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा राजपुतसहितका व्यक्तिहरूले अनिशमान सिंहको निजी निवासमा तोडफोड तथा आगजनी गरेका थिए। घटनापछि परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा गत शुक्रबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले राजपुतलाई पुनः पक्राउ गरेको थियो। त्यसपछि उनलाई अनिशमान सिंहको घरमा भएको तोडफोड तथा आगजनीसम्बन्धी मुद्दामा अदालतमा पेश गरिएको हो।
प्रहरीले राजपुत ‘हिन्दु सम्राट सेना’को उपाध्यक्षका रूपमा सक्रिय रहेको र धर्मको नाममा आतंक सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ। प्रहरीले सो विषयमा समेत अनुसन्धान भइरहेको जनाएको छ।
यसअघि यही घटनामा ‘अब्बु’ भनिने महमद अब्बु हुसेन अर्थात् अयुब हुसेन पनि अदालतको आदेशमा पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान भइसकेका छन्।
जेन–जी आन्दोलनका क्रममा वीरगञ्जमा भएका तोडफोड, आगजनी तथा लुटपाटका घटनामध्ये अनिशमान सिंहको निजी घरमा भएको आक्रमणसम्बन्धी अनुसन्धानमा प्रहरीले थप व्यक्तिमाथि समेत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
अनिशमान सिंह वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका छोरा हुन्।






