वीरगंज,२१ असोज । वीरगंज–१६ भानु चोकमा विद्युतीय सवारी (ईभी)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगंज–१६ नागवा बस्ने ४५ वर्षीया मिरा कुमारी गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार बुधबार वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०७२० नम्बरको ईभीले पैदल हिँडिरहेकी गुप्तालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा उनको टाउको, दाहिने खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । दुर्घटनामा घाइते गुप्ताको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।
दुर्घटनापछि प्रहरीले ईभी र चालक सिन्धुलीको कमलामाई नगरपालिका–२ निबुवाटारका ६० वर्षीय रामकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






