कटहरियामा बालिकामाथि जबरजस्ती करणीको प्रयास

1200x150_1200x150-01.jpg (1)

गरूडा/रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरूद्ध मुद्दा दर्ता भएको छ ।

कटहरिया नगरपालिका–५ का २२ वर्षीय सर्विन यादवविरूद्ध बिहीवार इलाका प्रहरी कार्यालय गरूडामा जाहेरी परेपछि प्रहरीले जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता गरेको हो । यादवलाई रौतहट जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरूडाका डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार बुधवार बिहान द ड्रीम एकेडेमीमा अध्ययनरत आफना दाजुलाई टिफिन पु-याउन पुगेकी बालिकालाई यादवले विद्यालय परिसरबाट बाहिर बोलाएर नजिकैको खाली छाप्रोमा लगेको आरोप छ । त्यहाँ बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बालिका त्यहाँबाट उम्किएर घर पुगेपछि आमालाई घटनावारे जानकारी गराएकी थिइन् । परिवारले विद्यालय प्रशासनलाई घटनावारे जानकारी गराएपछि घटना सार्वजनिक नगर्न दबाब दिएको आरोपसमेत लगाएको छ । उक्त विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले विद्यालय परिसर र घटनास्थलको निरीक्षण गर्नुका साथै सीसीटीभी फुटेज जाँच गरेको थियो। फुटेजमा यादवले बालिकालाई छाप्रो तर्पm लैजाँदै गरेको देखिएको प्रहरीको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र घटनावारे थप अनुसन्धान जारी रहेको डीएसपी आचार्यले बताए ।

सम्बन्धित पोस्टहरुः