कुटपिटपछि पत्नीको मृत्यु, पति पक्राउ

1200x150_1200x150-01.jpg (1)
बारा । निजगढ नगरपालिका–१२ रामथलीमा घरेलु विवादका क्रममा श्रीमतीलाई कुटपिट गरेको आरोप लागेका एक पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिटबाट घाइते भएकी श्रीमतीको उपचारपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निजगढ–१२ रामथलीका ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट सुकुमाया सामान्य घाइते भएकी थिइन।
घटनापछि स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाई सुकुमायाको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गरिएको थियो। उपचारपछि उनी सोही दिन राति करिब ८ बजे खाना खाएर सुतेकी थिइन।
तर, असोज २२ गते बिहान करिब ४ बजे उनका श्रीमान् विजयले उठाउन खोज्दा उनी नउठेपछि मृत्यु भएको थाहा भएको प्रहरीले जनाएको छ। घटनावारे बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी गराइएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक (प्र.स.नि.)को कमाण्डमा अस्थायी प्रहरी पोष्ट रतनपुरबाट तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक (प्र.नि.)को कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, बारामा पठाएको जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण, कुटपिट र मृत्युबीचको सम्बन्धलगायत विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित पोस्टहरुः