नक्कली श्रेस्ताबाट पर्सामा तीन करोडको जग्गा नामसारी गर्ने प्रयास

1200x150_1200x150-01.jpg (1)

वीरगंज। वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित स्वबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ। नापी कार्यालयको अभिलेखमै नदेखिएको श्रेस्ता भूमि प्रशासन कार्यालय, पर्सामा पुगेपछि प्रक्रिया रोकिएको हो।

वीरगंज १० स्थित रहेको कित्ता नम्बर २९, ५५ र १४७ को जग्गा वीरगंज–८ निवासी श्रीमती सुलोचना देवी प्रधान, आनन्द प्रसाद श्रेष्ठ, जुनि प्रधान श्रेष्ठ र आशा प्रधान श्रेष्ठसहित पाँच जनाको नाममा दर्ता तथा हालसाबिक गर्ने प्रक्रिया अघि बढाइएको प्रमाण फेला परेको छ।

करिब ३ करोड रुपियाँँभन्दा बढी मूल्य पर्ने उक्त जग्गाको श्रेस्ता नापी कार्यालयलाई जानकारी नै नदिई भूमि प्रशासन कार्यालयमा पुगेको जनाइएको छ। उक्त विषयको सूचना बाहिरिएपछि भूमि प्रशासन कार्यालयले टिपनी आदेश तथा निर्णयसमेत तयार पारिसकेको अवस्थामा हालसाबिकको प्रक्रिया रोकेको हो।

प्रचलित प्रक्रियाअनुसार नापी कार्यालयले सम्बन्धीत जग्गाको नापजाँच गरी व्यक्ति वा ऐलानी जग्गा के हो भन्ने यकिन गर्नुपर्ने हुन्छ। त्यसपछि टिपनी आदेशसहित स्थायी लालपुर्जा तथा श्रेस्ता कायम गरी निर्णयको पत्रसहित अभिलेख भूमि प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीहरू बताउँछन्।

तर, उक्त जग्गाको हकमा नापी कार्यालयको पत्रबिनै श्रेस्ता मात्र भूमि प्रशासन कार्यालयमा पुगेको देखिएको छ। नापी कार्यालयका अमिन तथा नापी अधिकृतको हस्ताक्षरसमेत रहेको उक्त श्रेस्ता नक्कली भएको आशंका भएपछि भूमि प्रशासन कार्यालयले प्रक्रिया रोकेको वताएको छ। उक्त निवेदन असोज ९ गते भूमि प्रशासन कार्यालयमा दर्ता भएको देखिएको छ।

भूमि प्रशासन कार्यालयका कर्मचारी श्रीनारायण साह र मिरा राईमार्फत प्रक्रिया अघि बढाइएको थियो। सेवाग्राही मार्फत हाल नामसारी कायम गरी जग्गाधनी प्रमाणपुर्जा अद्यावधिक गर्न निवेदन दर्ता भएपछि श्रेस्तामाथि शंका उत्पन्न भएको कर्मचारी साहले बताए।

“नापी कार्यालयको पत्रबिनै श्रेस्ता मात्र निवेदनमा आएको थियो। नापी कार्यालयले जारी गरेको श्रेस्तामाथि शंका लागेपछि प्रक्रिया रोकिएको हो,” साहले भने।

नापी कार्यालय, पर्साका सूचना अधिकारी तथा नापी अधिकृत ई.. राजकुमार विश्वकर्माले उक्त श्रेस्ता नापी कार्यालयको अभिलेखमा नदेखिएको बताए। नापी कार्यालयको मूल ढडडामा समेत सो श्रेस्ता प्रमाणित भएको अभिलेख नभेटिएको उनको भनाइ छ।

यता, भूमि प्रशासन कार्यालय, पर्साका प्रमुख खेमराज खत्रीले नापी कार्यालयबाट जारी हुने श्रेस्ताको जिम्मेवारी सम्बन्धीत नापी कार्यालयकै हुने बताए। नापी कार्यालयले जारी गर्नुपर्ने श्रेस्ता नक्कली अवस्थामा आफ्नो कार्यालयमा पुगेपछि त्यसवारे जानकारी माग्दै नापी कार्यालयलाई पत्राचार गरिसकेको उनले बताए।

“श्रेस्ता नक्कली सावित भएमा त्यसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ,” खत्रीले भने।

नक्कली श्रेस्ताको आधारमा बहुमूल्य जग्गाको लालपुर्जा बनाउने प्रक्रिया अघि बढेको विषयले भूमि प्रशासन र नापी कार्यालयको भूमिकामाथि समेत प्रश्न उठाएको छ। समाचार स्रोतका अनुसार यश कार्यमा नापी र भूमि प्रशासन कै कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ। यस विषयमा बुझ्न जग्गाधनी पक्षसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।

सम्बन्धित पोस्टहरुः